पछिल्लो समय कृषि बिमातर्फ अकर्षण बढ्यो

होमल्याण्ड खबर

२०७५ श्रावण ८ गते, मंगलवार ०४:५१ मा प्रकाशित

पछिल्लो समय कृषि बिमातर्फ अकर्षण बढ्न थालेको छ । आर्थिक वर्ष २०७४÷७५ मा बिमा कम्पनीले करिब ४२ करोड बराबरको कृषि बिमा शुल्क संकलन गरेका छन् । बिमा समितिको जेठसम्मको तथ्यांकअनुसार बिमा कम्पनीले सो बिमा शुल्क आर्जन गरेका हुन् ।
समितिका अनुसार कृषि बिमाअन्र्तगत पशु तथा पक्षी बिमातर्फ ४१ करोड १९ लाख ८७ हजार ८६२ रुपैयाँ बिमा शुल्क संकलन भएको छ । कुल बिमा अनुदान ३० करोड ३९ लाख ९० हजार ८९६ रुपैयाँ छ भने कुल दाबी १६ करोड ६७ लाख १० हजार ६९५ रुपैयाँ परेको समितिले जनाएको छ ।
त्यस्तै, बिमा कम्पनीले पशुु बिमाबाट ३२ करोड २५ लाख ९४ हजार ८८२ रुपैयाँ र पक्षी बिमातर्फ ५ करोड ५९ लाख ६२ हजार ५५ रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । त्यसैगरी, समितिको तथ्यांकअनुसार अन्नबाली तरकारी, फलफूल तथा माछाबाट ३ करोड ३४ लाख रुपैयाँबराबरको बिमा शुल्क आर्जन गरेका छन् । यो अवधिमा अन्नबाली बिमातर्फ ६४ लाख २४ हजार ५९८ रुपैयाँ, तरकारी बिमातर्फ ३१ लाख १७ हजार ८५९, फलफूल बिमातर्फ १ करोड ५ हजार ३४६ रुपैयाँ, माछातर्फ १ करोड ३८ लाख ८३ हजार ११८ रुपैयाँ बिमा शुल्क संकलन भएको छ । त्यसैगरी, पशु बिमामार्फत ३२ करोड २६ लाख रुपैयाँ तथा पक्षी बिमावाट ५ करोड ६० लाख रुपैयाँबराबरको बिमा शुल्क संकलन भएको छ । समितिका अनुसार अन्न बालीतर्फ ५० लाख, तरकारीतर्फ २८ लाख, फलफूलतर्फ २६ लाख रुपैयाँ कुल दाबी परेको छ । त्यसैगरी, माछातर्फ १ करोड ३८ लाख, पशुतर्फ १४ करोड ११ लाख र पक्षीतर्फ ७८ लाख रुपैयाँबराबरको दाबी परेको छ ।
त्यसैगरी, सरकारले कृषि बिमा गर्ने कृषकका लागि अनुदान पनि दिएको छ । समितिको तथ्यांकअनुसार अन्नबाली बिमातर्फ ४८ लाख १८ हजार, तरकारी बिमातर्फ २३ लाख ३८ हजार फलफूलतर्फ ७५ लाख ४ हजार, माछातर्फ १ करोड ४ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । त्यसैगरी, पशु बिमातर्फ २४ करोड १९ लाख रुपैयाँ र पक्षी बिमातर्फ ४ करोड २० लाख रुपैयाँ बराबरको अनुदान रकम उपलब्ध गराएका समितिले जनाएको छ ।
चालू आर्थिक वर्षको बजेटले पनि कृषि बिमालाई प्राथमिकतामा राखेको छ । न्यून आय भएका किसानको जीवनस्तर उकास्न लघु कृषि बिमाका कार्यक्रम सञ्चालन गरेको छ । कृषि बिमातर्फ सर्वसाधारणको चासो बढेका कारण कृषि बिमातर्फ आकर्षित हुन थालेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले जानकारी दिए । उनले भने, ‘कृषि बिमातर्फ सर्वसाधारणको चासो बढ्न थालेको छ ।’
सरकारले नेपालमा विगत ६ वर्षदेखि कृषि बिमा कार्यक्रम सञ्चालन गरेको छ । कृषि बिमाका लागि सरकारले किसानलाई ७५ प्रतिशत प्रिमियम शुल्क अनुदान दिँदै आएको छ ।