कांग्रेसको १४औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन हुँदै

होमल्याण्ड खबर

२०७८ भाद्र १८ गते, शुक्रबार ०८:४२ मा प्रकाशित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आजबाट सुरु हुँदै छ । केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन तालिकाअनुसार क्रियाशील सदस्यता विवाद सम्पन्न भइ नामावली प्रकाशित भएका ५६ जिल्लाका वडाहरुमा आजदेखि वडा अधिवेशन सुरु हुन लागेको हो ।

कांग्रेसले निर्वाचन अधिकृतसँग समन्वय गरी एक–दुई दिन वडा अधिवेशन सार्न सकिने अधिकार दिएको छ । तर भदौ २७ गते गाउँ–नगर अधिवेशन रहेकाले त्यसअघि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता रहेको छ ।

सदस्यता विवाद समाधान हुन बाँकी २१ जिल्लामा क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र भदौ २७ गते निर्धारित गाउँ तथा नगरपालिका अधिवेशनसम्ममा सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ ।

सर्वसम्मत नभएका वडामा मतदान गर्ने र मतदान सकिएलगत्तै गणना गर्नुपर्ने कांग्रेसको निर्देशिकामा उल्लेख छ ।

नौ लाख क्रियाशील सदस्य पार्टीको गाउँ–नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नै वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।

वडा अधिवेशनले सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

कांग्रेसको विधानमा टोल, वडा, गाउँपालिका÷नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ तहगत पार्टी संरचनाका व्यवस्था गरिएको छ ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।