एक दर्जन सांसदले एमाले छोड्ने भएपछि अर्को अध्यादेश ल्याउने तयारी

होमल्याण्ड खबर

२०७८ भाद्र २२ गते, मंगलवार १२:२९ मा प्रकाशित

नेकपा एमालेबाट विद्रोह गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका चार जना सांसदका लागि नयाँ अध्यादेश ल्याउने तयारी छ । कानूनी प्रावधानका कारण निर्वाचन आयोगमा हस्ताक्षर सनाखत नगराइएका केही सांसदलाई लक्षित गरी सरकारले अर्को अध्यादेश ल्याउन लागेको हो ।

गत भदौ २ गते जारी राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टीको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत सदस्यले दल दर्ताको निवेदन दिनसक्ने प्रावधान रखिएको थियो । ऐनको उक्त प्रावधानका कारण एकीकृत समाजवादीमा लाग्न चाहेका सांसदहरुलाई कानुनी अप्ठेरो परेको भन्दै त्यसलाई संशोधन गर्न अर्को अध्यादेश ल्याउनेबारे सत्ता साझेदार दलहरुबीच छलफल भएको छ ।

दल दर्ताका लागि माधव नेपालले निर्वाचन आयोगमा दिएको निवेदनमा नाम नरहेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदा भट्ट, तुलसा थापासहितका सांसदले यसअघि निर्वाचन आयोगमा पुगेर हस्ताक्षर सनाखत गराउन माग गरेका थिए । तर अध्यादेशमा ‘एकैपटक’ भन्ने प्रावधान राखिएकाले कानुनले नदिने भन्दै आयोगले उनीहरुको अनुरोध अस्वीकार गरेको थियो । जसका कारण उनीहरुको सांसद पद धरापमा परेको छ ।

त्यस्ता सांसदहरुको दल रोज्न पाउने राजनीतिक अधिकार संरक्षण गर्न अध्यादेशमा रहेको प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने व्यवस्थामा संशोधन गरी ‘संघीय सांसद’ पनि थपेर अर्को अध्यादेश ल्याउन लागिएको बताइन्छ ।

नेकपा एकीकृत समाजवादीका एक नेताले एक दर्जन बढी सांसद पार्टीमा आउन चाहेपनि ऐनको उक्त व्यवस्थाका कारण अप्ठेरो परेको बताए । उक्त कानुनी बाधा फुकाउन अध्यादेश ल्याउनेबारे सरकारसँग कुरा भएको उनले स्वीकार गरे ।