सत्तारुढ गठबन्धनको बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल

होमल्याण्ड खबर

२०७८ भाद्र २७ गते, आईतवार ११:५४ मा प्रकाशित

मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउबाका प्रमुख स्वकीय सचिव भानु देउबाले जानकारी दिए ।

सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउबाको आलोचना हुँदै आएको छ । तर, अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको स्रोतले जनाएको छ । यद्यपि कुन मन्त्रालय कसलाई भन्ने विषय भने टुंग्याउने तयारी भएको जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोध गरिरहेको तथा एमाले विभाजनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट आउने फैसलापछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा आवद्ध दल सहमत भएका छन् ।

गठबन्धनमा दल विभाजनसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषय पनि छलफलमा छ । अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा गठबन्धनमा एकमत छैन । तथापि एमाले विभाजनको फैसला भदौ २८ मा आउने सम्भावना भएकाले सोही निर्णयका आधारमा विधेयकलाई के गर्ने भन्ने निर्णय गर्ने गठबन्धनमा सहमति छ ।