एसमा जान चाहेका एमाले सांसदको रिटमा अन्तरिम आदेशबारे सुनुवाइ हुँदै

होमल्याण्ड खबर

२०७८ भाद्र २९ गते, मंगलवार ११:५१ मा प्रकाशित

सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ । सुनुवाइका लागि सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास तोकेको हो। उनीहरुको मुद्दा संयुक्त इजलासको एक नम्बरमा रहेकाे छ ।

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च पुगेका थिए ।

रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो ।

२७ भदौमा न्यायाधीस मिरा खड्काको एकल इजलासले आजका लागि छलफलमा बोलाउने आदेश दिएको थियो। आदेशमा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेकोमा कुनै कारवाही नगर्न एमालेलाई आदेश गरिएको थियो ।