एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, शोक प्रस्ताव मात्र पारित

होमल्याण्ड खबर

२०७८ भाद्र ३० गते, बुधबार १४:०१ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । एमालेको अवरोधका कारण बुधबारको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरूले उठेर विरोध गरेका गरेका थिए ।

विपक्षी दलको विरोध जारी रहेपछि अध्यक्ष तिमिल्सिना पहिलो र दोस्रो नम्बरमा रहेको कार्यसूची हटाएर तेस्रो नम्बरमा रहेको शोक प्रस्ताव प्रस्तुत गरेका थिए । संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गते बस्ने गरी स्थगित गरिएको छ ।

विपक्षी दल एमालेले भदौ २३ देखि सुरु भएको चालु अधिवेशनका राष्ट्रियसभाका बैठकहरू अवरुद्ध गर्दै आएको छ । प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि विपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै अवरोध गरिरहेको छ ।