२९ फाल्गुन २०८२, शुक्रबार
नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषय प्राथमिकतामा नरहने बताएका छन्।
खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन बुधबार साँझ न्युयोर्क जाने कार्यक्रम छ। उनले बुधबार नै पद तथा गोपनीयताका शपथ लिएका छन्। मन्त्री खड्का महासभामा भाग लिनेछन् भने सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आफ्नो भ्रमणको एजेन्डामा एमसीसी नरहेको बताए।


उनले पदभार ग्रहणका क्रममा भने, ‘म राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकताको सूचीमा छैन।’ नेपालमा एमसीसी सम्झौताबारे विवाद छ।
उनले एमसीसी लगायतका विषयमा अध्ययन गरेर अघि बढ्ने उनले बताए। ‘एमसीसीबारे राष्ट्रिय हित, सार्वभौमसत्ता र सुरक्षालाई ख्याल राखेर अघि बढ्छु’, उनले भने। परराष्ट्र नीति दल विशेषको नहुने उनको भनाइ थियो। उनले सबै मुलुकसँग घनिष्ठ र सन्तुलिन सम्बन्ध कायम राख्दै अघि बढ्ने पनि बताए।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेकी हुन्।