ओलीले डाके एमाले केन्द्रीय कमिटीको बैठक

होमल्याण्ड खबर

२०७८ आश्विन ७ गते, बिहीबार १३:५४ मा प्रकाशित

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो ।

केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक दुई दिनसम्म चल्ने कार्यालय सचिव तामाङले बताए ।

यसअघि तीनै दस्ताबेजमाथि एमाले स्थायी कमिटी बैठकमा छलफल भएको थियो। स्थायी कमिटी बैठकले तीनै दस्तावेजलाई केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो।

एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म काठमाडौंमा हुने तय गरिएको छ। यसअघि साउनमा तय गरिएको विधान महाधिवेशन सरेको थियो।