एमालेको विधान महाधिवेशन आजदेखि गोदावरीमा शुरू हुँदै

होमल्याण्ड खबर

२०७८ आश्विन १५ गते, शुक्रबार १०:०९ मा प्रकाशित

 नेकपा एमालेको विधान महाधिवेशन आजदेखि शुरु हुँदै छ। ललितपुरको गोदावरीमा शुरु हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले दिउसो साढे १२ बजे उद्घाटन गर्ने छन् ।  महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको जनाएको एमालेले जनाएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि शुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव बिष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन् ।

विधान महाधिबेशनका लागि ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा गरिने छ।  केन्द्रलाई एमालेले महाधिवेशन स्थलका रुपमा रोजेको छ। ओलीले आफू प्रधानमन्त्री रहेकै बेला गत बैशाखमा उद्घाटन गरेका थिए । ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी हुने छन्। जसमध्येका ३ हजार जना मुल हलमा बस्ने छन् । बाँकी ३ हजारका लागि बस्न दाँया बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने ठाउँ बनाइएको छ ।

सहभागीहरुलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको छ। जिल्ला सम्पर्क मञ्चहरुको समन्वयमा प्रतिनिधिहरुको बसोबासको व्यवस्था मिलाइएको एमाले नेता इन्द्र भण्डारीले बताए ।  केन्द्रमा राखिएको मिडिया सेन्टरबाट लाइभ हेर्नसक्ने व्यवस्था एमालेले गरेको छ । त्यहाँबाट दैनिक पत्रकार सम्मेलनको व्यवस्था गरिएको  छ । महाधिवेशन सफल बनाउन भन्दै २ सय स्वयमसेवक खटाइने भण्डारीले बताए ।  कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मास्क, सेनिटाइजर लगायतको व्यवस्था गरेको छ ।