सुदूरपश्चिम प्रदेश सरकार फेर्नेबारे कुनै छलफल भएको छैन : देउवा

होमल्याण्ड खबर

२०७८ कार्तिक ५ गते, शुक्रबार ११:१२ मा प्रकाशित

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे छलफल नै नभएको बताएका छन् ।

शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सभापतिसमेत रहेका देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौं गएर छलफल हुने बताए । बिहीबार मात्र वाग्मती सरकारमा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो ।

सुदूरपश्चिममा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । प्रदेश सभामा माओवादी दोस्रो दल हो । तर, पहिलो दल नेकपा एकीकृत समाजवादी र तेस्रो दल कांग्रेसका प्रदेश स्तरका नेताहरू सरकार हेरफेर हुनुपर्ने भन्दै नेतृत्वसँग लवइङि गरिरहेका छन् ।

एकीकृतबाट भौतिकमन्त्री रहेका दीर्घ सोडारी र कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल मुख्यमन्त्रीका लागि दौडधुपमा रहे पनि प्रधानमन्त्री देउवाले यसबारे छलफल नै नभएको बताएका हुन् ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र एमालेका १० सांसद छन् । यसैगरी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका १-१ सांसद छन् ।