वाग्मती प्रदेशमा नयाँ सरकार आज, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

होमल्याण्ड खबर

२०७८ कार्तिक ११ गते, बिहीबार १०:२५ मा प्रकाशित

कुनै नाटकीय राजनीतिक खेल नभए आज नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन् । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजीनामा दिएपछि त्यसको भोलिपल्ट चार दलीय गठबन्धनका तर्फबाट पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् ।

गठबन्धनले हिजै ५९ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरिसकेको छ। मुख्यमन्त्री दाबीका लागि हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादी (एस)का १३ र जनता समाजवादी पार्टी (जसपा)का १ सदस्य छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन्। तर पाण्डेबाहेकको दाबी पेस हुने सम्भावना छैन ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने भएकाले पाण्डे नै मुख्यमन्त्री बन्ने पक्का जस्तै छ । पार्टी विभाजनपछि सङ्घमा मात्रै होइन प्रदेशमा पनि एमालेले सत्ता गुमाउँदै गइरहेको छ ।