प्रधानमन्त्री देउवा स्टकल्याण्डमा, ‘वर्ल्ड लिडर समिटलाई आज सम्बोधन गर्ने

होमल्याण्ड खबर

२०७८ कार्तिक १५ गते, सोमबार ०७:२८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा यही आज र भोलि (नोभेम्बर १ र २ मा)  ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति स्कटल्याण्ड पुगेका छन् । प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो पुगेका हुन् ।

स्थानीय समयानुसार उनी आज दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

भ्रमणका दौरानमा उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुगेका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले  भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।