प्रधानन्यायाधीशलाई आइताबार पनि सर्वोच्च प्रवेशमा रोक लाउने नेपाल बारको घोषणा

होमल्याण्ड खबर

२०७८ कार्तिक २६ गते, शुक्रबार १३:१४ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बार एशोसियसनले आइताबार पनि सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भएको छ । कानुन व्यवसायीले आइताबार बिहान सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिएर प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए।तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुको माग पूरा नभएसम्म धर्नालाई निरन्तरता दिने बताए । सोही अनुसार आइतबार पनि धर्ना दिने उनको भनाइ छ । आफूहरु सडकमा जान नचाहेपनि सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेपछि सडकमा धर्ना दिनुपरेको उनले बताए ।

अध्यक्ष श्रेष्ठले आइतबार सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिने बताउँदै नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गरेका छन् ।