३० फाल्गुन २०८२, शनिबार
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर विरुद्धको आन्दोलन भोलि (सोमबार) देखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आह्वानमा कानुन व्यवसायीहरुले आइताबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए। तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।
बारको धर्नाका बीच प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गरेका थिए । प्रधानन्यायाधीश जबराको समर्थनमा प्रर्दशनमा उत्रिएका युवाहरु बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका हुन् । आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै महासचिव पौड्यालले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई अपमान गर्दै दबाउन खोजेको आरोप लगाएका छन् ।


‘प्रधानन्यायाधीशले ‘भिजिलान्तेहरु’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर अदालतसम्म भिड्न पठाए ।’ उनले भने , ‘यसको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ ।’ आफूहरु शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रधान्यायाधीशले भिजिलान्तेहरु प्रयोग गरेको भन्दै सोमबारदेखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने बताए । साथै उनले आफूहरुले हरेक दिन सर्वोच्चको गेटमा आन्दोलन गर्ने स्पष्ट पारे ।