३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेको १०औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल र्याली गरिने भएको छ। दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचार–प्रसारका लागि देशव्यापी रुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली गरिने बताउनुभएको हो। र्याली यही मंसिर ७ गते हुने छ।
महाधिवेशन प्रचार–प्रसार सहयोग समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेषगरि काठमाडौं–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्याली गर्ने तयारी गरिएको जानकारी दिए।


उनका अनुसार मंसिर १० गते १२ बजे नारायणगढ जाऔं भन्ने आह्वान गर्न र्याली आयोजना गर्न लागिएको हो । वागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो।
मंसिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक जिल्ला एक स्वागतद्धार निर्माणमा जोड दिइएको उहाँले जानकारी दिए। मुख्यगरी पूर्व–पश्चिम-उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिकाहरु, मुख्य बजारहरुमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ।
एमालेले महाधिवेशनमा कुनै पनि भित्ते लेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने संयोजक भट्टराईले बताए। प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अंग्रेजी लगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको उनको भनाइ छ।
पत्रकार सम्मेलनमा एमालेले महाधिवेशनमा कम्तीमा ३० भिडियो तथा अडियो क्लिप र वृत्तचित्र बनाएर प्रचार गर्ने तयारी गरेको छ । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचार–प्रसारका लागि सञ्चार माध्यमका साथै फेसबुक, टिकटक र ट्वीटर लगायतका सामाजिक सञ्चालको प्रयोग गर्ने उनको भनाई छ।
उनले सबै कम्युनिष्ट एमालेमा समायोजन गर्दै अघि बढ्न महाधिवेशनले सहयोग पुग्ने बताए। उनले भने, “अब कम्युनिष्टहरु वैचारिक र सैद्धान्तिक हिसाबले एउटै पार्टी बन्नेछन्।” अहिले देशमा दुई विचार धार रहेको भन्दै उहाँले अघिल्ला गल्तिलाई नदोहोर्याइ एकता गरिने बताए। एमालेको नेतृत्वमा कम्युनिष्ट पार्टी बन्ने उनको भनाइ थियो।
संयोजक भट्टराईले दर्जनौं देशका राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताए। उनले भने, “एशियाका कतिपय देशका राजनीतिक दलका प्रतिनिधि आउने निश्चित गरिसकेका छन्, नेपाल स्थित विदेशी नियोगका प्रतिनिधिलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिसकिएको छ।”
भट्टराईले देशका ९५ प्रतिशत जिल्लाका विभिन्न सङ्गठनमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत भइसकेकाले यसपटकको महाधिवेशनमा सर्वसम्मत नै पार्टी नेतृत्व चयन गरिने दाबी गरे।
प्रचारप्रसार सहयोग समिति गठन
यसैबीच महाधिवेशनको प्रचारप्रसारलाई थप व्यवस्थित गर्न १० औं महाधिवेशन प्रचारप्रसार सहयोग समिति गठन गरिएको छ । प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय चितवन समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा एमाले नेता केशव रेग्मी र सचिवमा पत्रकार तिलकराम रिमाल रहेका छन्।