३० फाल्गुन २०८२, शनिबार
नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापा मगरले न्यायालयको शुद्दीकरणको पहिलो पात्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा भएकाले तत्काल राजीनामा दिनुको विकल्प नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बार उपाध्यक्ष मगरले भने, “बारको आन्दोलन समग्र न्यायपालिकाको शुद्दीकरणका निम्ति हो । न्यायालय शुद्दीकरणको पहिलो पात्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट हुनुभएको छ। न्यायाधीशहरुले उहाँसँग बेन्च सेयर गर्दिन भनेका छन्, कानुन व्यवसायीहरुले उहाँले तोकेको कजलिस्टमा बहस गर्दिनँ भनेका छन् । यस्तो अवस्थामा पनि उहाँले राजीनामा दिनुभएको छैन । तेस्रो चरणको आन्दोलन अझ सशक्त हुन्छ ।”


प्रधानन्यायाधीशको राजीनामा माग्दामाग्दै तपाईंहरुले त गृहमन्त्री बालकृष्ण खाँडको पनि राजीनामा माग्न थाल्नुभयो नि भन्ने प्रश्नमा उनले भने, “बार विधिको शासन, मानवअधिकार र न्यायपालिकाको स्वतन्त्रताको पक्षमा छ । हामीले सडकमा होइन, न्यायालयकै परिसरमा आन्दोलन गरिरहेका छौं । प्रहरीले कालोकोटमा कलम र किताब बोकेका हामीविरुद्ध ज्यादती गरेको छ । गृहमन्त्रीले न्यायालयलाई ब्यारेकका रुपमा परिणत गरेका छन् ।”
उनले थपे, “राजीनामा नैतिकताको कुरा हो । बीपी कोइरालाले चिनियाँकाजीलाई गोली लाग्दा राजीनामा दिनुभयो, सिंहदरबार जल्दा कीर्तिनिधि विष्टले दिनुभयो, रंगशाला काण्ड हुँदा केशरबहादुर विष्टले राजीनामा दिनुभयो । गृहमन्त्रीले पनि नैतिकता देखाउनुपर्छ ।” न्यायपालिकाको विवादमा राजनीतिक दलहरु मूकदर्शक भएर बस्न नहुने पनि उनले बताए ।
बारको आन्दोलन एक ढिक्का र एक मतका रुपमा भइरहेको उनले दाबी गरे । उपाध्यक्ष मगरले भने, “समग्र रुपमा देशभरिका अदालत ठप्प छन् । केही कानुन व्यवसायीले एकाध ठाउँमा बहस गरेको कुरा आएको छ । उहाँहरुले पश्चात्तापस्वरुप आफ्नो कुरा राख्नुहुनेछ ।”