३० फाल्गुन २०८२, शनिबार
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई महाधिवेशनमा पार्टीका रूपमा बोलाउन नसकिने बताएका छन् । साथै कोही व्यक्तिलाई एमालेले नबोलाएको उनको भनाइ छ ।
सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा मंगलबार ओलीले भने, ’माधव नेपाललाई र माधव नेपालले नेतृत्व गरेको निष्कासित व्यक्तिहरूको गुटलाई पार्टी भनेर मान्न सक्ने स्थिति रहेन । पार्टी नै होइन भने पार्टी भनेर निम्ता गर्ने स्थिति रहेन । व्यक्ति व्यक्ति छानेर निमन्त्रणा गरेका छैनौं ।’


पत्रकार, कलाकारलगायतलाई निमन्त्रणा गरेको तर अरु व्यक्तिलाई निमन्त्रणा नगरिएको ओलीको भनाइ थियो । नेपाललगायतका व्यक्तिहरूलाई साउन २५ गते एमालेले कारबाही गरेको र त्यसको जानकारी निर्वाचन आयोग र संसद् सचिवालयमा दिएको अवस्थामा अध्यादेशबाट फुटेको पार्टीलाई बोलाउन नसकिने ओलीको भनाइ थियो ।
नेपालले ’आफ्नो सरकार ढाल्ने र विपक्षीको सरकार बनाउने खालका लोकतन्त्रमा नसुहाउने पार्टी विरोधी’ काम गरेको पनि ओलीले बताए । आफू नेतृत्वको सरकारले केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत अलग्गिए नयाँ पार्टी गठन हुने व्यवस्थामा ’वा’ राखेर संशोधन गर्दा नागरिक समाजबाट आलोचना भएको तर २० प्रतिशतको व्यवस्था राख्दा कुनै आवाज नउठेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका थिए ।
एमालेको १०औं महाधिवेशनमा नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई निमन्त्रणा गरिएको छैन । उक्त पार्टीलाई मान्यता नदिएकाले नबोलाइएको ओलीको भनाइ छ । कान्तिपुरबाट साभार