१० मंसिर २०८१, सोमबार
पछिल्लो समय व्यापारिक हिसाबमा देखिएको व्यापक तनावका बीच अमेरिकाले एसियामा लगानीको योजना अघि सारेको छ । उसले एसियाको डिजिटल बजारमा ११ करोड ३० लाख अमेरिकी डलर बराबरको लगानी गर्ने बताएको हो । एसियाको बजारमा चीनको बढ्दो प्रभावलाई मध्यनजर गर्दै अमेरिकाले यस्तो योजना अघि सारेको बताइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पछिल्लो इन्डो–प्यासिफिक क्षेत्रको आर्थिक विस्तारका लागि यस किसिमको योजना अघि सारिएको बताएका हुन् ।
विदेशमन्त्री पोम्पेओले आफूहरु अहिले बलियो सम्बन्धका लागि अघि बढिरहेको तर निर्भरताको लागि कुनै स्थान नरहेको बताएका हुन् । पछिल्लो समय चीन र अमेरिकाको बीचमा ठुलो व्यापारिक तनाव जारी रहेको अवस्थामा यस किसिमको योजना आएको हो । चीन आफ्नो प्रभाव व्यापक मात्रामा विस्तार भइरहेकोले पनि अमेरिका चीनलाई रोक्ने योजनामा अघि बढेको हो । अहिले अमेरिकाले ल्याएको योजना चीनको लगानीको तुलनामा भने समुद्रमा एक थोपा पानी बराबरको रहेको विश्लेषकहरुले बताएका छन् ।
चीनले यो क्षेत्रमा आफ्नो प्रभाव बढाउनका लागि अर्बौं डलरबराबरको लगानी गरिसकेको छ । अमेरिकाका लागि चीनको वान बेल्ट वान रोड योजना एक समस्या हो । यो योजनाको माध्यमबाट चीन आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव विस्तार गर्ने दिशामा अघि बढिरहेको अवस्थामा उसलाई रोक्ने धुनमा अमेरिका देखिएको हो । पोम्पेओले अमेरिका आफ्नो आर्थिक क्षेत्रमा नयाँ युगको लागि अघि बढिरहेको र सोही क्रममा यस्तो योजना अघि सारिएको बताए । डोनाल्ड ट्रम्प आएसँगै सबैभन्दा पहिला अमेरिका भन्ने योजनाका साथमा अघि बढेको कारण गत वर्ष उसले ट्रान्स प्यासिफिक पार्टनरसिप सम्झौताबाट बाहिरिने निर्णय गरेको थियो । एजेन्सी ।