राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै कमल थापाले भनेः पार्टी फुटाउदिन

होमल्याण्ड खबर

२०७८ मंसिर १३ गते, सोमबार १४:५९ मा प्रकाशित

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौंस्थित राष्ट्रिय सभागृमा आयोजित एक कार्यक्रमबीच उनले पार्टी नफुटाउने सङ्कल्प गर्दै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

थापाले राप्रपाको इतिहासमा महाधिवेशनपछि पार्टी फुट्ने देखिएको हुँदा टुटफुटको शृङ्खला हुन नदिन र पार्टीलाई एकताबद्ध राख्न अपिल समेत गरे । महाधिवेशनबाट फर्केर घर जाँदा राप्रपालाई कहिले फुट्न नदिने सङ्कल्प गरौँ,’ उनले भने ।

कार्यक्रममा बोल्दै थापाले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने जिकिर गरे । उनले भने, मन वचन र कर्मले एकताको महाधिवेशन बनाउनुपर्छ । यो महाधिवेशनबाट एकता, सद्भाव र सहमतिको सन्देश दिनुपर्छ ।’

अर्का अध्यक्ष पशुपति शमशेर राणाले अध्यक्ष पदमा उम्मेदवारी नदिने र प्रकाशचन्द्र लोहनीले पनि पार्टी एकतामा जोड दिएका कारण महाधिवेशनमा सहमति मै नेतृत्व चयन गर्ने आशा व्यक्त गरे ।

यसअघि राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरी सकेका छन् । लिङ्देनलाई राप्रपा अध्यक्षमा उम्मेदवारी  दिन नेपालगञ्जका मेयरसमेत रहेका राप्रपा नेता धवलशमशेर जबराको साथ दिएका छन् ।  २०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो । एकीकरणपछि पहिलोपटक मंसिर १५, १६ र १७ गते राप्रपाको महाधिवेशन काठमाडौंमा हुँदैछ ।