एमालेको मतदान सकियो, २ हजार ८० भन्दा बढी मत खस्यो

होमल्याण्ड खबर

२०७८ मंसिर १४ गते, मंगलवार ११:०८ मा प्रकाशित

नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन् । तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन भने बाँकी नै छ ।

‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ, ‘ निर्वाचन समितिका एक सदस्यले भने, ‘ निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुन सक्छ ’ । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।

चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि भएको निर्वाचनमा सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।

पार्टीका प्रतिनिधिहरुलाई भीम रावल लगायतका उम्मेदवारलाई भोट नदिनू भन्दै ओली पक्षले पर्चा वितरण गरेपछि भीम रावलले त्यसलाई पार्टीको निर्बाचन आचार संहिता विपरीत भएको भन्दै निर्बाचन आयोग र सुरक्षाकर्मीलाई पर्चा बाँड्ने कमा तत्काल रोक्न आगरुह समेत गरेका थिए ।