प्रतिनिधिसभाको दशौँ अधिवेशन आजदेखि सुरु हुँदै

होमल्याण्ड खबर

२०७८ मंसिर २८ गते, मंगलवार ११:०० मा प्रकाशित

प्रतिनिधिसभाको दशौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो २ बजे सुरु हुने दशौँ अधिवेशनको पहिलो बैठकमा विभिन्न अध्यादेशहरू पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

बैठकको सुरुवातमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउनेछन् ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेस गर्नेछन् ।यस्तै उनले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ पेस गर्नेछन् ।

गृहमन्त्री खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पनि पेस गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्री श्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पेस गर्नेछिन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको महासचिव डा.गौतमले जानकारी दिए ।