झापाका चिया उत्पादक सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी

होमल्याण्ड खबर

२०७५ भाद्र ६ गते, बुधबार १४:३१ मा प्रकाशित

केही दिनदेखि चिया क्षेत्रमा कार्यरत मजदुरले श्रम ऐनअन्तर्गत ज्याला एवं सेवा सुविधाको माग गर्दै आन्दोलन चर्काउने बताएपछि चिया उत्पादक पनि आन्दोलनमा उत्रने भएका छन् । नेपाल चिया उत्पादक सङ्घ झापाले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । श्रम ऐन २०७४ अनुसार ज्याला र सेवा सुविधा दिन नसक्ने चिया उत्पादकको भनाइ छ ।
श्रम ऐन, २०७४ लागू भएदेखि नै सङ्घले श्रम मन्त्रालय, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री केपी ओली शर्मालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराए पनि बेवास्था भएकाले आन्दोलन गर्न बाध्य हुने अवस्था आएको अध्यक्ष सुरेशकुमार मित्तलले जनाए । झापामा पत्रकार सम्मेलन गर्दै मित्तलले श्रम ऐन लागू गर्न नसकिने भएकाले चिया उधोग बन्द गर्ने उनले बताए ।
ऐनले आफूहरूको अर्बौँ रुपियाँ डुब्ने खतरा रहेको र यो नसच्याएमा सरकारलाई उद्योगको तालाचाबी बुझाउन बाध्य हुने उनले बताए । उद्योगलाई धराशयी बनाउने गरिका व्यवस्था हटाउनुपर्ने भन्दै उनले अन्यथा केही दिनभित्रै सबै उधोग बन्द गर्ने चेतावनी दिए । हामी सरकारलाई नै तालाचाबी बुझाउँछौँ, हामीसँग अरू विकल्प छैन– मित्तलले भने ।
झापामा हाल २५ वटा चिया उद्योगमा हजारौँ मजदुर कार्यरत छन् । मजदुरले ऐनले तोकेबमोजिम सेवा सुविधा नपाएको र अब पाउनुपर्ने माग अघि सारेका थिए । झापामा चिया उत्पादक, चिया उद्योग र चिया मजदुरको विवाद बर्ष पिक्छे हुने गरेको छ । सबैभन्दा बढी विवाद चियाको समर्थन मूल्य र मजदुरको ज्यालाको विषयमा हुने गर्छ ।