भन्सार राजस्व ६७ प्रतिशतले वृद्धि

होमल्याण्ड खबर

२०७५ भाद्र २१ गते, बिहीबार १०:३६ मा प्रकाशित

राजस्वको मुख्य स्रोत अटोमोबाइलमा बढाइएको अन्तःशुल्ककै कारण चालू आर्थिक वर्षको पहिलो महिनामै भन्सार राजस्व ६७ प्रतिशतले वृद्धि भएको छ । सरकारले चालू आर्थिक वर्षदेखि लागू हुनेगरी चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशतदेखि ४० प्रतिशतसम्म अन्तःशुल्क बढाउँदा त्यसको प्रभाव समग्र राजस्व संकलनमा देखिएको हो ।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार साउन महिनामा सरकारले आयातमा आधारित भन्सार शुल्कबाट २८ अर्ब ४५ करोड राजस्व संकलन गरेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा गत आर्थिक वर्षको पहिलो महिनामा आयात ५७ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा १९ अर्ब १६ करोड राजस्व संकलन भएको बिभाले जनाएको छ । चालू आर्थिक वर्षमा भन्सारदरमा गरेको वृद्धिको प्रभाव भन्सार प्रशासनमा देखिएको र त्यसैको फलस्वरुप एक महिनामामात्रै गत वर्षको सोही अवधिको तुलनामा साढे आठ अर्ब बढी राजस्व संकलन गरेको विभागको दाबी छ ।

विभागका अनुसार सरकारले चालू आर्थिक वर्षदेखि लागू हुनेगरी यातायातका सवारी साधनमा बढाएको भन्सारदरले राजस्वमा प्रभाव परेको हो । भारतबाट आयात गरिने १५० देखि २५० सिसीका मोटरसाइकल इन्जिनबाट असुल हुने राजस्व सबैभन्दा बढी रहेको भन्सार विभागका अधिकारीहरू बताउँछन् । तथ्यांकअनुसार यी इन्जिनबाट २ अर्ब ५६ करोड रुपैयाँको राजस्व संकलन भएको छ भने १ अर्ब ८५ करोड रुपैयाँ बराबरका यस्ता इन्जिन आयात भएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको चालू आर्थिक वर्षको बजेटमा १ हजारदेखि १५ सय सीसी इन्जिन क्षमताका कारमा हाल लाग्दै आएको ६० प्रतिशत अन्तःशुल्क बढाएर ६५ प्रतिशत पु¥याइएको छ । बजेटमार्फत महँगा गाडी र मोटरसाइकलको अन्तःशुल्क ४० प्रतिशतसम्म बढाएको छ भने १५ सय सीसीदेखि २ हजारसम्मको गाडीमा ७० प्रतिशत अन्तशुल्क पु¥याइएको छ । यस्तै २ हजारदेखि २५ सयसम्ममा ८० प्रतिशत र २५ सयदेखि ३ हजार सीसीसम्मको गाडीमा ९० प्रतिशत अन्तःशुल्क कायम गरेको छ । बजेटमा ३ हजारदेखि माथि गाडीलाई एक सय प्रतिशत अन्तशुल्क पु¥याइएको छ भने मोटरसाइयकलमा समेत १ सय ५० सीसीदेखि माथिमा अन्तशुल्क बढाइएको छ । सवारीको अंकित मूल्यमा भन्सार लागेपछि अन्तशुल्क जोडिने र त्यसमा भ्याट समेत लाग्दा यो शिर्षकबाट राजस्व संकलन उल्लेख्य बढ्ने विभागको दाबी छ ।

सरकारले चालू आर्थिक वर्षकालागि ल्याएको बजेटले ९४५ अर्बको राजस्व असुलीको लक्ष्य लिएको छ । विभागको तथ्यांकअनुसार पहिलो महिनामा डिजेल शीर्षकको भन्सार शुल्क पनि पनि करिव २ अर्ब ४ करोड रुपैयाँ संकलन भएको छ । यस अवधिमा ८ अर्ब ३४ करोड रुपैयाँको डिजेल आयात भएको छ । एक महिनामा करिब ३ अर्ब रुपैयाँको पेट्रोल आयात भएकोमा १ अर्ब ३४ करोड रुपैयाँको राजस्व संकलन भएको विभागले जनाएको छ ।

अर्थमन्त्री डा. खतिवडाले भन्सार बिन्दुमा चुहावट रोक्न आवश्यक कदम चालिदै आएको बताउँदै आएका छन् । विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब २७ अर्बको वैदेशिक व्यापार भएको छ । साउन महिनामा भएको कुल वैदेशिक व्यापारमा निर्यात योगदान ५.४ प्रतिशतमात्रै रहेको छ भने व्यापारमा ठूलो हिस्सा आयातको रहेको छ । यस महिनाको व्यापारघाटा १ खर्ब १३ अर्ब रहेको ६८ करोड रहेको विभागको तथ्यांक छ ।