प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

होमल्याण्ड खबर

२०७५ आश्विन ३ गते, बुधबार १०:१५ मा प्रकाशित

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ ।

पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ । अहिले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र त्यहाँबाट पैदलयात्रा गरी जाने गर्छन् । त्यसैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता छ ।

पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नक केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीयस्थल पञ्चासे पुग्न पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबलकार निर्माणको प्रक्रिया अघि बढाएको जनाएका छन् । घाँटीछिनाबाट पञ्चासेसम्मको केबलकारको दूरी झण्डै ८.५ किलोमिटर हुने भएको छ । केबलकार निर्माण गर्न विस्तृत सर्वेक्षणको कार्य भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

पञ्चासेसम्म पुग्ने केबलकार निर्माण गर्न करीब रु सात अर्ब लाग्ने अनुमान गरिएको र चार वर्ष्भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । केबलकारमा ८० पोल राखिनेछ ।
पञ्चासे पुग्ने पर्यटकका लागि पोखराबाट पामे हुँदै र पर्वतको कुश्माबाट आर्थर हुँदै भञ्ज्याङ्गसम्म कच्ची सडकको सुविधा छ । त्यहाँ जाने पर्यटकलाई आधार बनाएर पोखरा महानगरको भदौरे, सिदाने, कुबिडाँडालगायतका स्थानमा घरबास सञ्चालनमा छन् । पर्वतको कुश्मा नगरपालिका– १४ आर्थर डाडाँखर्क र मोदीगाउँपालिका वडा नं ८ चित्रेमा पनि घरबास सुविधा सञ्चालनमा रहेको छ ।