‘चिनीको मूल्य घटाउन प्रधानमन्त्रीको आदेश चाहिन्छ’

होमल्याण्ड खबर

२०७५ आश्विन २१ गते, आईतवार १०:३२ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशन लागू गर्न नसक्ने स्पष्ट पारेका छन् । यादवले समितिले दिएको निर्देशन जस्तो चिनीको बजारमूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न नसक्ने र यसको लागि प्रधानमन्त्रीको लिखित आदेश दिनुपर्ने पनि बताए । उनले तत्कालका लागि ७० रुपैयाँभन्दा कममा मात्र चिनी किनबेच गर्न सबैलाई आग्रह गरे ।
यादवले लेखा समितिले निर्देशन दिएका भोलिपल्टै अथात शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी चिनीको बजार मूल्य घटाउन दिएको निर्देशन लागू गर्न नसक्ने बताएका हुन् ।

लेखा समितिप्रति आक्रोशित देखिएका मन्त्री यादवले तरकारी र दाल चामलको भाउ तोकिदिन समितिसँग व्यंग्य पनि गरेका छन् । समितिको बैठकमा मन्त्रीलाई नबोलाई सचिवलाई मात्र बोलाएको भन्दै उनले समितिका सदस्य प्रति आक्रोश पनि व्यक्त गरे । पत्रकार सम्मेलन भरी पत्रकारलाई गाली गर्दै समय बिताएका उद्योग मन्त्री यादवले भ्रष्टाचार गरेको आरोप लगाउने तर प्रमाण नदिने लाई पनि कारबाही हुनुपर्ने माग गर्नुभयो । मन्त्री यादवले आफूले भ्रष्टाचार गरेको भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताए । हाल बजारमा चिनी ५९ रुपैयाँदेखि ८० रुपैयाँसम्म पर्ने गरेको छ ।