१० मंसिर २०८१, सोमबार
चीन जाने सडक स्तरोन्नतिका लागि चीन सरकारले साढे पाँच अर्ब अनुदान दिएको छ । स्याफ्रुवेसी–रसुवागढी सडक खण्ड २ लेनको मापदण्डमा स्तरोन्नति गर्न चीन सरकारले ३२ करोड ९० लाख युयान अर्थात् ५ अर्ब ५७ करोड रूपैयाँ अनुदान सहायता प्रदान गरेको हो ।
स्याफ्रुवेसीदेखि रसुवागढीसम्मको १५.७ किलोमिटर सडकखण्डको स्तरोन्नतिका लागि सो अनुदान सहायता दिएको सडक विभागले जनाएको छ । विभागका अनुसार, १ मे २०१९ बाट स्तरोन्नति सुरु गरेर तीन वर्ष तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सम्झौतामा सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ र चीनका तर्फबाट अन्तर्राष्ट्रिय आर्थिक सहायक आदानप्रदान तथा सेवा केन्द्र, स्वशासित क्षेत्र तिब्बतका निर्देशकबीच हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको र सोअन्तर्गत ७ मिटर चौडाइमा अल्फाल्टस्तरको कालोपत्रे गर्ने योजना छ ।