६२ लाख रुपैयाँको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला

होमल्याण्ड खबर

२०७५ कार्तिक १९ गते, सोमबार १४:३६ मा प्रकाशित

बाह्रौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैयाँको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ ।
तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भीड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र ३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैयाँको फूल बिक्री भएको थियो । उक्त मेलाको अन्तिम दिन आइतबार मात्र ५ हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैयाँको फूल बिक्री भएको मेलाको आयोजक फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

प्रदेश नं ३ को भूमि व्यवस्था, कृषितथा सहकारी मन्त्रालय र पुष्पविकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरिकल्चर एसोसिएसनले मेला आयोजना गरेको हो । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांकभन्दा धेरै कारोबार भएको एसोसिएसनले जनाएको छ ।

मेलामा पहिलो दिन ९ हजार ५ सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैयाँको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा १६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार बिदा परेका कारण १७ हजार अवलोकनकर्ता पुगेको मेलामा २१ लाख रुपैयाँको कारोबार भएको थियो ।
चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैयाँ बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

प्रदर्शनीमा ४ सय ५० भन्दा बढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो । ‘रोपेर फुलगोदावरी सजाआँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएका छन् ।

२०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्य स्तरमा सुरु भएको फुल व्यवसाय आर्थिक गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा कविस्तार भइसकेको छ ।