महिला विश्वकप: दक्षिण अफ्रीका र इंग्ल्यान्डको जित

होमल्याण्ड खबर

२०७५ कार्तिक २७ गते, मंगलवार १५:०७ मा प्रकाशित

आईसिसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीका र इंग्ल्यान्डले जित निकालेका छन् । मंगलबार भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंका र इंग्ल्यान्डले बंगलादेशलाई पराजित गरेको हो ।

समूह ‘ए’ मा रहेको दक्षिण अफ्रीकाले श्रीलंकालाई ७ विकेटले हराएको हो । श्रीलंकाले दिएको १०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । दक्षिण अफ्रिकाका मारिजान कप्पले ३८ तथा कप्तान डान भानले ३३ रन जोडिन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन जोडेको थियो । श्रीलंकाका शशिकला सिरीवर्दनेले २१ तथा दिलानी मान्डोराले २० रन जोडिन ।

जितसंगै यस समूहमा दक्षिण अफ्रीकाले १ खेलबाट २ अंक जोडेको छ । श्रीलंकाले २ खेलबाट १ अंक जोडेको छ । दक्षिण अफ्रीका तेस्रो र श्रीलंका चौथो स्थानमा छ ।

यस समूहमा इंग्ल्यान्ड शीर्ष स्थानमा छ । इंग्ल्यान्डले सोमबार राति बंगलादेशलाई डिएल पद्दतिको आधारमा ७ विकेटले हराएको थियो ।

बंगलादेशले दिएको ७७ रनको लक्ष्यसहित इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाले रोकिएपछि खेलको निर्णय डिएलको आधारमा गरिएको हो ।

यस समूहमा इंग्ल्यान्डले २ खेलबाट ३ अंक जोडेको छ । पराजित बंगलादेश २ खेलमा पराजित हुँदै पुछारमा छ । एजेन्सी ।