११ मंसिर २०८१, मंगलवार
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुबईबाट काठमाडौं आउँदा ‘इकानोमी क्लास’ का यात्रुका लागि नयाँ ब्यागेज नियम कार्यान्वयनमा सुरु गरेको छ ।
निगमका अनुसार युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट आउँदा कुनै पनि एउटा ब्यागेजको तौल अधिकतम ३० किलोसम्मको हुनुपर्ने छ । विधुतीय उपकरणसहितको चेक–इन ब्यागेज भने दुईथानसम्म ल्याउन अनुमति दिइएको छ । चेक–इन ब्यागेजको आकार (लम्बाइ, चौडाइ र उचाइ) १ सय ६० सेन्टिमिटरभन्दा बढी हुनु हुँदैन ।
“तोकिएको आकारभन्दा बढी वा तौल धेरै वा सामान्य ढाँचाभन्दा बाहिरका ब्यागेज ल्याउनुपरे प्रतिथान २ सय युएई दिनार शुल्क तिर्नुपर्छ,” निगमका प्रवक्ता अशोक सिग्देलले भने, “ह्यान्ड ब्यागेजतर्फ भने भन्सार शुल्क मिनाहा गरिएका सामानसहित अधिकतम सात किलो तौलको झोला ल्याउन पाइन्छ ।”