प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलमा बोलाए

होमल्याण्ड खबर

२०८१ जेष्ठ ४ गते, शुक्रबार १४:१४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । तर सत्ता पक्ष कांग्रेसको मागमा असहमत छ । यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ ।

यही विषयमा विवाद हुँदा बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो ।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले बिहीबारको घटनाको निन्दा गर्दै सभामुखको बैठक सन्चालन गर्दाको भूमिका माथि समेत प्रश्न उठाएको छ ।