२ मंसिर २०८१, आईतवार
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् ।
विराटनगरमा बिहीकार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न्,’ कोइरालाले प्रश्न गरे ।
गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको उनले बताए ।
सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दिन आफैंले अर्डर दिएको स्विकारेको कोइरालाले बताए ।
‘यसरी नै देश चल्ने हो भने हामी कहाँ पुग्छौं । पहिलो दिन कैलाश जीलाई समातेको मलाई थाहा छैन भन्नुभयो । हिजो मैले नै अर्डर गरेको भन्नुभयो,’ कोइरालाले भने,‘सरकार छ कि छैन । यो देशमा भइरहेको छ चाहिं के? बुढी मर्यो भन्दा काल पल्कियो ।’
सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न रहेको उनले बताए ।