कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा छ : शंकर पोखरेल

होमल्याण्ड खबर

२०८१ जेष्ठ १३ गते, आईतवार १५:५२ मा प्रकाशित

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन् । आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

महासचिव पोखरेलले मुलुकमा अहिले अस्थिरता रहेको बताए । उनले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताए ।

महासचिव पोखरेलले कांग्रेसले संसद‍्मा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताए । उनले आफू सरकारमा पुग्नका लागि कांग्रेस संसद्लाई बन्धक बनाउन लागि परेको जिकिर गरे । संसद्को अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको उनले बताए ।

महासचिव पोखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामर्थ्य एमालेले जुटाउन नसकेको बताए । उनले मिसन ०८४ मा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुममा स्थापित गर्नुपर्ने बताए । अरूको सहारा बिना एमालेको नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको उनले बताए ।