गिरिबन्धु टि–इस्टेटबारे तथ्यहीन लाञ्छना लगाएकोमा कांग्रेसले लिखित रुपमा माफी माग्नुपर्छ : विष्णु पौडेल

होमल्याण्ड खबर

२०८१ जेष्ठ १४ गते, सोमबार १३:४९ मा प्रकाशित

 

गिरिबन्धु टि–इस्टेट प्रकरणमा कांग्रेस नेताहरुले दिएको अभिव्यक्तिमा नेकपा (एमाले) ले आपत्ति जनाएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले सोमबार बिहान बालुवाटारमा पछिल्ला दिनमा कांग्रेसले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध पूर्वाग्रही, प्रायोजित, तथ्यहीन, भ्रामक र प्रतिशोधपूर्ण लाञ्छना लगाएको भन्दै लिखित रुपमा माफी माग्नुपर्ने बताए ।

बालुवाटारमा प्रधानमन्त्रीसहित सत्ता र प्रतिपक्षी कांग्रेस नेताहरूबीच भएको छलफलमा पनि एमालेले यो विषय उठान गरेको छ । कांग्रेसका नेताहरूले पछिल्लो समय गिरीबन्धु टी–इस्टेटबारे अभिव्यक्ति दिँदै आएका छन् ।

पत्रकारहरुसँग कांग्रेस कुनै सहमतिको पक्षमा नभएको आरोप लगाए । उनले भने, ‘कांग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका घटनाक्रम र पछिल्ला दिनका उसका अभिव्यक्तिले संकेत गरिरहेको छ । एउटा असान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा कांग्रेस लागेको छ ।’

पौडेलले गिरीबन्धु टी–इस्टेटको नाम भने लिएका थिएनन् । ‘पछिल्ला दिनमा एमाले र पार्टी अध्यक्षविरूद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहिन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहिन लाञ्छनाहरुको प्रचार गरिरहेका छन्,’ उनले भने, ‘आधारहिन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न कांग्रेसलाई आग्रह गर्दछु । कांग्रेस आफ्ना अभिव्यक्तिबाट पछि हट्दैन, लिखित रुपमा क्ष्मायाचनता गर्दैन भने एमाले यस्ता अभिव्यक्तिका विरूद्ध राजनीतिक रूपमा प्रतिवादमा उत्रन्छ ।’