प्रधानमन्त्रीले छलफलका लागि देउवा र ओलीलाई बालुवाटार बोलाए

होमल्याण्ड खबर

२०८१ जेष्ठ १४ गते, सोमबार १४:०१ मा प्रकाशित

सहकारी प्रकरण सम्बन्धमा छानबिन गर्न बनाइन लागेको संसदीय छानबिन समिति गठनको विषय पेचिलो बन्दै गइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीलाई छलफलको लागि बोलाएका छन् ।

सत्तारुढ र विपक्षबीच सोमबार बिहान सहमति नभएपछि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीलाई आजै दिउँसो ३ बजे छलफलको लागि बोलाएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए ।

बिहानको बैठकमा सहकारीमा भएको नागरिकको पैसा अपचलनको विषयमा कांग्रेसले गृहमन्त्री रवि लामिछाने केन्द्रित छानबिन समिति बनाउनुपर्ने अडान लिएको थियो ।

रविको नाम प्रत्यक्ष नलिए पनि उनी संलग्न भएको गोर्खा मिडिया, यसका पदाधिकारीमाथि छानबिन गर्नुपर्ने अडान कांग्रेसको थियो । तर सत्तापक्षका एमाले र रास्वपाले कुनै पनि हालतमा रवि केन्द्रित छानबिन समिति गठन गर्न नसकिने अडान लिएका थिए ।

प्रधानमन्त्रीले दुवै पक्षका कुरा सुनेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीबीच छलफलमा जुटेको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्ने गरी कांग्रेसले बैठक बोलाएको हो । यो बैठकपछि कांग्रेसले आफूहरूको धारणा सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेस सहभागी हुने तयारीमा छ ।

एमालेले पनि कांग्रेसले एकपछि अर्को बहाना झिक्न छानबिन समितिलाई प्रयोग गरिरहेको टिप्पणी गरेको छ । कांग्रेसले गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा आफूहरूलाई जोडेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

आज दलबीच संसदीय छानबिन समितिमा सहमति नभए भोलि संसदको संयुक्त बैठकमा ल्याइने बजेट कार्यक्रमसमेत प्रभावित हुने स्थिति छ ।

यसैले प्रधानमन्त्रीले अग्रसरता लिँदै छलफलको श्रृंखला नै चलाएका छन् ।

अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए ।

फाइल तस्विर