नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्छ : अध्यक्ष ओली

होमल्याण्ड खबर

२०८१ जेष्ठ १६ गते, बुधबार १७:३२ मा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्ने बताएका छन् । महिला भेलालाई बुधवार काठमाडौँमा सम्बोधन गर्दै उनले छोटो अवधिमा नेपालमा धेरै उपलब्धि भएको बताएका हुन् । व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको भनेर गलत शब्दावली प्रयोग भइरहेकोमा उनले असन्तुष्टि पोखे ।

‘अवस्था जहाँको त्यही भएको गलत शब्दावलीको प्रयोग भइरहेको छ । व्यवस्था परिवर्तन भयो अवस्था जहाँको त्यही छ भनेका छन् । भर्खर जन्मेका केटाकेटीले के देख्नु । अवस्था कहाँ थियो, कहाँ आइपुग्यो भनेर । कति सङ्घर्ष र अवस्था पार गरेर यहाँ आइपुगेको छ ।

कुन बलिदानले यहाँ आइपुगेको छ । त्यो देखेको छैन अवस्था उस्ताउस्तै भनेका छन् । कहाँ उस्ताउस्तै छ ? नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्छ । प्रजातन्त्रको लामो इतिहास पार गरेकाले पनि उपलब्धि गरेका छैनन् । उनीहरू सङ्घर्षरत छन्’, ओलीले भने ।

उनले महिलाको प्रतिनिधित्वलाई संविधानमै ३३ प्रतिशत कायम राखिएको बताए । समानताको हकमा नेपालभन्दा विश्वका अन्य मुलुक धेरै पछि रहेको ओलीले जिकिर गरे ।