गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने परम्परा गलत : प्रवक्ता श्रेष्ठ

होमल्याण्ड खबर

२०८१ जेष्ठ २५ गते, शुक्रबार १३:०१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले सरकारले ११ देशको राजदूत फिर्ता बोलाएपछि गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने विगतको गलत परम्पराले फेरि निरन्तरता पाएको टिप्पणी गरेका छन्।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेसको कोटाबाट राजदूत बनेका ११ जनालाई फिर्ता बोलाएपछि उनले असन्तुष्टि जनाएका हुन्। उनले भनेका छन्, ‘सत्ता स्वार्थका लागि गठबन्धन गर्ने, गठबन्धन दलका दलीय भागबन्डाका आधारमा दलका शुभेच्छुक र कार्यकर्तालाई राजदूत नियुक्त गर्ने, प्रधानमन्त्री स्वयंले गठबन्धन फेर्ने, गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने विगतको गलत परम्पराले फेरि निरन्तरता पाएको छ, वैदेशिक मामिलामा यस्तो लाजमर्दो कुरा भइरहेको छ हाम्रो नेपालमा ।’

दलको सदस्य र सदस्यता रहेका राजदूतहरूले पनि सरकार फेरिनासाथ कुनै पनि समय फिर्ता बोलाइन्छ भन्ने थाहा पाएपछि बेलैमा छाड्नु उपयुक्त हुने तर्क गरे।

उनले थपेका छन्, ‘सर्वत्र राजनीतिकरणको दुष्चक्रबाट हाम्रो देशले कहिले मुक्ति पाउने होलारु विदेशमा देशको प्रतिनिधित्व गर्नेहरूको यसरी हुर्मत लिइनु सर्वथा गलत छ ।’