१ मंसिर २०८१, शनिबार
गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे नेतृत्वको सरकार जोगाउन र ढाल्न तीव्र रसाकस्सी चलिरहेको छ । सत्ताको यो खेलमा नेकपा माओवादीको चुनाव चिन्हबाट विजयी डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा निर्णायक बन्न सक्ने देखिएको छ ।
६० जना सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ जनाको समर्थन चाहिन्छ । कांग्रेससँग २७ जनामात्रै सांसद रहेकाले पाण्डेले ४ सांसदको खोजी गरिरहेका छन् । दुई सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्न सक्ने जनाउ दिएको बुझिएको छ । यसबाट पाण्डेको मनोबल बढेको छ । उनी भोलि प्रदेशसभामा विश्वासको मत माग्दैछन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई गण्डकी सरकार जोगाइदिन गुहारेका छन् । उनले लिङदेनलाई पत्र नै पठाएर समर्थन मागेका हुन् । गण्डकी सरकारपछि अन्यत्र सबैतिर सहकार्यको ढोका खुल्ने भनेर पनि देउवाले लिङदेनलाई फकाएका छन् । देउवाको आग्रहमा लिङदेन सकारात्मक बनेको स्रोतले बताएको छ ।
केही दिनअघि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सत्ता गठवन्धनलाई कतै पनि समर्थन नगर्ने निर्णय लिएको थियो । कुनै पनि प्रदेशमा विपक्षी गठवन्धनको सरकार बन्ने अवस्था आएमा त्यसमा सहभागी हुन पार्टीको आन्तरिक रणनीति रहेको छ । यस विषयमा निर्णय गर्ने अधिकार लिङदेनले आफैंसित राखेका छन् । त्यही आधारमा उनले गण्डकी सरकारलाई समर्थन गर्ने तयारी गरेका हुन् ।
राप्रपाले समर्थन गर्दा अब मुख्यमन्त्री पाण्डेलाई २ भोटमात्र अपुग हुन् । त्यसमध्ये एक भोट उनले स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र दोस्रो भोट नेसपाका देवकोटाबाट आशा गरेका छन् । एक थान मन्त्री पाएपछि मनाङेले मुख्यमन्त्री पाण्डेलाई समर्थन गर्ने पक्का नै छ । उनले बहुमत पुग्ने अवस्था आएको खण्डमा आफूले भोट हाल्ने भनेर प्रत्याभूति गराइसकेका छन् । तर, देवकोटाको समर्थन भने पक्का भएको छैन ।