बालेन लोकप्रियताका नाममा तानाशाही : सांसद सिंह

होमल्याण्ड खबर

२०८१ असार ६ गते, बुधबार १३:३४ मा प्रकाशित

स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लोकप्रियताका नाममा तानाशाही बन्न लागेको भन्दै कवाड व्यवसायीमाथि भएको दमनको विरोध गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कवाडीले व्यापार गर्न नपाउने र मेयरले अदालतको आदेश मान्न नपर्ने भन्दै प्रश्न गरे ।

‘पपुलिजमका नाममा दुनियाँमा तानशाही जन्मेका छन् । हिटलर पनि निर्वाचित भएरै आएको थियो । तर हिटलरका कारण जर्मनीको के हाल भयो ?’, सिंहले प्रश्न गर्दै भने, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो र विभेदमा चल्न खोजेको हो ?’

उनले गणतन्त्रमा एउटा गरिब र एकजना निर्धाले पनि बाच्न पाउने भन्दै मधेसका मानिसले शान्तिपूर्ण आन्दोलन गर्दा किन टाउको फुटाएको भन्दै गृहमन्त्रीलाई समेत प्रश्न गरे । ‘यो विभेद किन भइरहेको छ ? यो स्वीकार्य हुँदैन’, सिंहले भने,‘ अहिलेको प्रधानमन्त्री विभेद अन्त्य गर्न जनयुद्ध गरेर आउनुभएको छ । के देशमा गरिब बस्न नपाउने हो ? हामी कवाडीको आन्दोलनमा साथ दिन्छौ ।’