लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा तिरण गौतम नियुक्त

होमल्याण्ड खबर

२०८१ असार ८ गते, शुक्रबार १४:४१ मा प्रकाशित

लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा दाङका तिरण गौतम नियुक्त भएका छन् ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गौतमलाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरिएको हो ।

बैठकले नियुक्त गरेको ३ जना सदस्यहरूमध्यबाट परिषद्को अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले सदस्य सचिव नियुक्त गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् गठन नियमावलीअनुसार सामाजिक विकास मन्त्रीको अध्यक्षतामा हुने २५ सदस्यीय परिषद्को अन्य सदस्य भने नियुक्तिको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले बाँकेका दिलबहादुर तामाङ र जनक केसीलाई सदस्य पदमा नियुक्त गरेको छ ।

प्रदेश सत्ता गठबन्धनमध्ये ७ जना एमालेबाट, ३ जना माओवादी केन्द्रबाट र १/१ जना जसपा र नागरिक उन्मुक्तिबाट नियुक्त हुने भागबन्डा भएको मन्त्रालय स्रोतले जनाएको छ ।

नवनियुक्त सदस्य सचिव र सदस्यहरूलाई शुक्रबार मन्त्री खत्रीले शपथग्रहण गराएका छन् ।

सरकारले यस अघिका जयप्रकाश भट्टराईलाई हटाएर गौतमलाई नियुक्त गरेको हो ।