१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बद्नाम भइरहेको बताए।
सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको उल्लेख गरे।
उनले भने, ‘हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएकोजस्तो भएको छ। त्यो मिसन हराएकोजस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ। अरु राजनीतिक दलले आफ्नो ठाउँबाट प्रयास गर्नुहोला, हामीले आफ्नो ठाउँबाट प्रयास गर्नेछौँ।’
उनले नेपाली कांग्रेसमा योगदान दिएका पात्रहरुलाई गाउँगाउँबाट खोज्न आवश्यक रहेको पनि बताए।
महामन्त्री थापाले थपे, ‘हामीले हाम्रो इतिहासमा रहेको, हामीले सम्झनुपर्ने तर नसम्झिरहेको पात्रहरुलाई खोजी खोजीकन ल्याउनुपर्छ। नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँगाउँबाट खोज्न आवश्यक छ। किन पनि भने कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ। कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन। कांग्रेसभित्रको फोहोर सफा गर्ने सन्दर्भमा कांग्रेसभित्रको फोहोर थोरै छ। कांग्रेसभित्रको सफाको अंश धेरै छ। तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो। फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ।’