विपद्का फाइल पनि खोल्न गृहमन्त्रीलाई सांसद खतिवडाको आग्रह

होमल्याण्ड खबर

२०८१ असार १४ गते, बिहीबार १३:०८ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत वर्षका विपद्का फाइलहरू खोल्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत विपद् प्राधिकरणबाट हुने कुनै काम नभएको बताए ।

उनले भने, ‘गत वर्ष पनि विपद्का धेरै घटना भए, एक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत विपद् प्राधिकरणबाट हुने कुनै काम भएको छैन । ती घरलाई व्यवस्थापन गर्न र पीडितलाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्छु ।

गत वर्ष भएका विपद्का फाइलहरू गृह मन्त्रालयमा थन्किएर बसेका छन् । म गृहमन्त्रीलाई अनुरोध गर्छु, तपाईँ फाइल धेरै हेरिराख्नुभएको छ । कमसेकम विपद्मा परेका फाइलहरू जनतालाई राहत दिने र पुनर्स्थापना गर्ने फाइलहरूमा पनि ध्यान जाओस् ।’