बीपीको गुन बिर्सेर चीनले कांग्रेसलाई नजरअन्दाज गरेको छ : राजेन्द्र बजगाईँ

होमल्याण्ड खबर

२०८१ असार १४ गते, बिहीबार १४:५८ मा प्रकाशित

 नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले चीनले नेपाली कांग्रेसलाई नजरअन्दाज गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस सांसद बजगाईँले बीपी कोइरालाले चीनलाई राष्ट्रसंघको सदस्य बनाउन खेलेको भूमिका समेत भुलेको टिप्पणी गरे ।

सांसद बजगाईँले भने- जब जब कांग्रेस किनारामा जान्छ वा प्रतिपक्षमा हुन्छ त्यही बेला बीआरआईलाई आक्रामकरुपमा प्रस्तुत गरिएको छ । चीनप्रति हाम्रो गुनासो छ, बीपी कोइरालाले चीनलाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउन प्रस्ताव गर्नुभएकोमा त्यसलाई चीनले मूलरुपमा भुलेको छ र नेपाली कांग्रेसलाई नजरअन्दाज गरेको छ । बीपी कोइरालाले अन्तर्राष्ट्रिय क्षितिमा परिचित गराउन हेनरी किसिन्जरको भन्दा ठूलो भूमिका खेल्नुभएको छ,त्यो गुन भुल्न हुँदैन ।

चीनले पन्चायतकालमा दक्षिणपन्थीलाई उपयोग गरेको र पछिल्लो समय नेकपा एकता गराएको भन्दै उनले कांग्रेसप्रति चीन सकारात्मक नरहेको बताए । बजगाईँले बीआरआईका बारेमा भएको समझदारी पत्र संसदमा उपलब्ध गराउन माग गर्दै अनुदानबाहेक ऋण लिन नहुने बताए ।