शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी: सभामुख घिमिरे

होमल्याण्ड खबर

२०८१ असार १५ गते, शुक्रबार १२:०७ मा प्रकाशित

सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पु-याउनुपर्ने बताए ।

घिमिरेले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रूपमा विकास गर्नुपर्ने बताए । उनले नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भई प्राकृतिक श्रोत साधनहरूको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने बताए ।

उनले अहिलेको समयानुसारको पाठ्यक्रमहरू निर्माण गरी दक्ष शिक्षकहरूबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताए । सभामुख घिमिरेले शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसावबाट अघि बढ्न जरुरी रहेको पनि बताए ।

सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीहरुलाई सिकाउन आवश्यक रहेको बताए ।