नगरसभा बैठक स्थगित

होमल्याण्ड खबर

२०८१ असार १५ गते, शुक्रबार १३:१६ मा प्रकाशित

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको बताएका छन् ।

शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर शाहले कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको बताए ।

‘एमाले, कांग्रेसले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ उनले लेखेका छन् ।

स्वतन्त्र सेनानी सहिदहरू भन्दा आफ्नो नेताहरूको योगदान धेरै देखेको मेयर शाहको आरोप छ । ‘सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ,’ उनले भने ।