महाधिवेशन उद्घाटनअघि र्‍यालीसहित शक्ति प्रदर्शन

होमल्याण्ड खबर

२०८१ असार १७ गते, आईतवार १४:३२ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले १०औ राष्ट्रिय महाधिवेशनको उद्घाटनअघि काठमाडौंमा र्‍याली निकालेको छ । काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न भेषभुषासहित एकीकृत समाजवादीले र्‍यालीसहित शक्ति प्रदर्शन गरेको हो ।

र्‍यालीमा एकीकृत समाजवादीका नेताहरू माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेता कार्यकर्ता सहभागी थिए ।

समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ । महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्दै नयाँ नेतृत्व पनि चयन गर्नेछ । सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

आजदेखि २० असारसम्म हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् । नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीको यो पहिलो महाधिवेशन हो । यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले एकीकृत समाजवादीले दशौं महाधिवेशन भनेको छ ।