१ मंसिर २०८१, शनिबार
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सहमति भएको बताएका छन् । महासचिव पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस एमाले सहमति र त्यसको अन्तर्यबारे खुलाएका हुन् ।
उनले संविधानको आवश्यक संशोधन र सोही अनुरूपका कानुन निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन गरी सहमति भएको बताएका हुन् । पोखरेलले यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने समेत बताएका छन् ।
‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बिचमा समझदारी । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने’, पोखरेलले लेखेका छन् ।