एमाले वामपन्थी छाडेर दक्षिणपन्थी बाटोमा लाग्यो : माओवादी

होमल्याण्ड खबर

२०८१ असार २० गते, बुधबार १५:०४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेस र एमालेको मिलनले देश पश्चगमन र प्रतिगमनको दिशामा गइरहेको जिकिर गरेका छन्। राजनीतिक घटनाक्रमबारे संवाद डबलीमा आयोजित साक्षात्कारमा बोल्दै एमालेले माओवादीसँगको सहकार्य तोड्नुको कुनै आधार नभएको बताए।

उनले भने, ‘अहिले संविधान संशोधनको चर्चा गरिएको छ। यो उपलब्धिलाई उल्ट्याएर ०४७ सालको संविधानको दिशामा लान खोजिएको आशंका उत्पन्न भएको छ। त्यसैले यो पश्चगमनको दिशामा रहेको प्रष्ट हुन्छ।’ उनले माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास गर्दा पनि सहमति नजनाएका दलहरूले अहिले यो विषयलाई उठाएकोप्रति असन्तुष्टि जनाए।

उनले भने, ‘हामीले भन्दा कुनै दल तयार भएनन्, अहिले दुई दलले मध्यरातमा सहमति गरेर राष्ट्रिय सहमतिको भनेर हल्ला गरिएको छ। यथार्थतामा होइन। दुई दलबीच कुरा मिलेको छैन। एउटा दल राष्ट्रिय सहमति भन्दा अर्को दल एउटै राष्ट्रिय सहमतिको होइन भन्छ।’

वामपन्थीहरूको सहकार्य छाडेर एमाले दक्षिणपन्थी दिशामा अगाडि बढेको आरोप लगाए। टिआरसी विधेयकलाई रोक्ने र नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको देखिएको जिकिर गरे।