प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऔँ : वामदेव गौतम

होमल्याण्ड खबर

२०८१ असार २० गते, बुधबार १७:०४ मा प्रकाशित

राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताएका हुन् । उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए ।

उनले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरु अल्पमतमा हुने गरेका भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए। उनले व्यक्ति नभई पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए ।

उनले खर्च कम गर्नका लागि राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधिसभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरुको एकै दिन निर्वाचन गर्नुपर्ने बताए ।

उनले भने ‘नेपाल राष्ट्रलाई सधैँ गरिब हुन प्रेरित गर्ने हामीले अवलम्वन गरेको यो संसदीय शासन प्रणाली र निर्वाचन प्रणाली नै हो । अब साहस गरेर नेपालको संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा प्रवेश गरौँ ।’

उनले नेपालका सबै कृषियोग्य भूमिलाई राष्ट्रियकरण गर्नुपर्ने पनि बताए । उनले सरकारले भूमिपतिहरुलाई चलन चल्तीको मूल्य प्रदान गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए। यसो गरेमा नेपालको समृद्धि शुरु हुने उनको भनाइ छ।