१ मंसिर २०८१, शनिबार
कांग्रेसले एमालेसँग सहकार्य गर्नुका आधार प्रस्ट्याएको छ । सत्तासाझेदारीसम्बन्धी एमालेसँग मध्यरातमा भएको र अहिलेसम्म पूर्ण विवरण सार्जजनिक नभएको सहमतिलाई दस्ताबेजीकरणसहित अनुमोदन गरेको कांग्रेसले आफ्नो निर्णयमार्फत आधारहरू खुलाएको हो । सभापति शेरबहादुर देउवानिवासमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी एमालेसँगको सहमतिको स्वागत र समर्थन गरेको छ ।
कांग्रेस निर्णयअनुसार उसले एमालेसँग राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, राजनीतिक स्थिरता कायम, संविधानको समीक्षा र संशोधन, बलियो अर्थतन्त्र बनाउन र आलोपालो प्रधानमन्त्री गर्ने गरी गठबन्धनका लागि सहमति गरेको छ । ‘कांग्रेस र एमालेबीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलोपटक एमाले अध्यक्ष केपी ओली र दोस्रोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ,’ बैठकको निर्णय छ ।
सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमति अनुमोदन गर्दै सरकार गठन प्रक्रिया सहज बनाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेको छ । सदनमा विश्वासको मत लिने बताएर प्रधानमन्त्री प्रचण्डले चाँडो नयाँ सरकार गठन बनाउने गृहकार्यमा जुटेका दुवै दलमाथि दबाब बनाइरहेका छन् ।
त्यसैले कांग्रेस बैठकले प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न उचित हुने ठहर गरेको छ । ‘कांग्रेस र एमालेबीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम केपी ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकोमा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ बैठकको निर्णय छ ।