१ मंसिर २०८१, शनिबार
नेकपा (एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् ।बिहीवार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरु दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए ।
उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए । पार्टीको नेतृत्व सर्वसहमतिमा टुंग्याउने प्रयास भइरहेको उनले बताए । उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडि बढेको बताए ।
नेतृत्व सर्वम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उनको भनाई छ । उनले भने, ‘महाधिवेशनबाट हामी निक्लँदा एकताबद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौँ भन्ने बारेमा हामीले छलफल गर्दै छौँ । सबै प्रतिनिधिहरुको चासो, चिन्ता, सङ्कल्प, प्रयत्न त्यही नै हो । त्यसमा हामी निराश छैनौँ ।
अलिकति समय लागेको छ, तर परिणाम राम्रै आउँछ भन्ने मलाई लाग्छ । निर्वाचन हुँदा पनि हामी सर्वसहमतीमै निर्वाचनमा जान्छौँ । निर्वाचनको मूल्य, प्रक्रिया मानेरै जान्छौँ । सकेसम्म त्यो पनि नहोस् भन्ने कुरा त हामीले पहिलेदेखि नै भन्दै आएका छौँ । निर्वाचनमा जान नपरिकन सर्वसम्मतिमै सबै मामिला टुंग्याउन प्रयास भइरहेको छ ।’